Search
Close this search box.

हेतौंडामा ‘एजि एक्सप्रेस’को अन्तर्राष्ट्रिय कुरियर सेवा सुरु

हेटौंडा । अन्तर्राष्ट्रिय स्तरको कुरियर सेवा प्रदान गर्ने उद्देश्यसहित एजि एक्सप्रेसले मकवानपुरको हेटौंडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हेटौंडा–४ स्थित सितलमहल चोकमा बुधबारदेखि सेवा सुरु भएको यो शाखा कम्पनीको १६औँ शाखा हो।

नयाँ शाखाको उद्घाटन पूर्व सांसद दीपक बहादुर सिंहले गरेका हुन्। कार्यक्रममा बोल्दै उनले मकवानपुरमा उत्पादन हुने सामग्रीलाई गुणस्तर कायम राखेर विदेशसम्म पठाउन सके स्थानीय उद्यमीहरूले राम्रो आम्दानी गर्न सक्ने बताए। साथै उनले कम्पनीको टोलीलाई शाखा विस्तारका लागि बधाई तथा धन्यवाद व्यक्त गरे।

कम्पनीका ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेतीका अनुसार एजि एक्सप्रेस हङकङ र चीनबाट सुरु भएको संस्था हो, जसले विभिन्न सहरमा सेवा विस्तार गर्दै आएको छ। कम्पनीको मुख्य कार्यालय काठमाडौंको तिनकुनेमा रहेको छ।

उप्रेतीले एजि एक्सप्रेस केवल कुरियर कम्पनी मात्र नभई विदेशमा रहेका नेपाली र नेपालमा रहेका परिवारबीच भावनात्मक सम्बन्ध जोड्ने सेतु बन्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको बताए।

कम्पनीका अनुसार हेटौंडा शाखामार्फत मकवानपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय डेलिभरी सेवा उपलब्ध हुनेछ। यसमार्फत स्थानीय उत्पादन—जस्तै हस्तकला, मसला, लत्ताकपडा लगायतका सामग्री—विदेशमा रहेका नेपालीसम्म सुरक्षित रूपमा पुर्‍याइनेछ। साथै विदेशबाट आउने उपहार तथा अन्य सामग्रीहरू पनि ग्राहकको घरदैलोमै डेलिभरी गरिने कम्पनीले जनाएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्षले शाखा विस्तारले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कम्पनीको पहललाई स्वागत गरे।

कम्पनीले सेवा सञ्चालन पूर्ण रूपमा कानुनी प्रक्रियाअनुसार हुने र नेपाल सरकारलाई लाग्ने मूल्य अभिवृद्धि कर (VAT), कर तथा भन्सार शुल्क तिरेर सेवा प्रदान गरिने जनाएको छ।

एजि एक्सप्रेसले हाल करिब १० करोड रुपैयाँ लगानीमा देशभरका महानगरपालिका र उपमहानगरपालिकामा एक सय शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ। हेटौंडा शाखा कम्पनीको १६औँ शाखा हो।

नयाँ शाखा उद्घाटनको अवसरमा कम्पनीले सम्पूर्ण हेटौंडावासीलाई शुभकामना व्यक्त गर्दै ग्राहकहरूको माया, सुझाव र सहयोगको अपेक्षा गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan