हेटौँडा–मकवानपुरको विकट मध्येको एक कैलाश गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण भएको छ । कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारमा निर्माण भएको विपी स्मृति कैलाश आधारभूत अस्पतालको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा ४ वर्ष लगाएर अस्ताल भवन निर्माण गरिएको हो । आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा अस्पताल भवन सम्पन्न भएकोमा बुधबारबाट अस्पतालमा सेवा सुरु गरिएको हो । अढाई तल्ले अस्पताल भवनबाट विभिन्न विशेषज्ञ सेवाका साथै एक्सरेदेखि प्रयोगशाला सेवा उपलब्ध हुने जनाइएको छ ।
कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमकाअनुसार अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहनेछ । ५ जना स्टाफ नर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मीको दरबन्दी रहेता पनि हालसम्म भने स्वास्थ्य चौकीको दरबन्दी मात्रै रहेको जनाइएको छ ।
अस्पतालबाट इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलव्ध हुने बताइएको छ । गाउँमै अस्पताल निर्माण भएपछि उपचारका लागि गाउँबासीलाई लामो समय धाएर जिल्ला सदरमुकाम हेटौँडा वा भरतपुर जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । पालिका सदरमुकाममै अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि भई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

अस्पतालबाट गाउँपालिकाका १० वटै वटाका साथै राक्स्रिाङ गाउँपालिकाका केही वडाका स्थानीयले समेत सेवामा भौगोलिक पहुँच हुनेछ । अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुक संघीय संरचनामा गइसकेपछि गाउँगाउँमा सबै पूर्वाधारको विकास हुने क्रममा विकट गाउँमा सडक, स्वास्थ्य सेवालगायत सेवा विस्तार हुँदै गएको बताए । गणतन्त्र गरिबको व्यवस्था भएको भन्दै न्युन वर्गीय नागरिकलाई सबै खालको सेवा सहज रुपमा उपलब्ध गराउनको लागि यो व्यवस्थाले काम गरिरहेको उनले स्मरण गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमकैबीच अस्पतालको जग्गादाता र भवन निर्माण व्यवसायीलाई सम्मानसमेत गरिएको थियो ।



