Search
Close this search box.

१४ वर्षीया सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ हेटौँडामा विमोचन

हेटौँडा । नवसर्जक साहित्य चौतारी नेपालको ४२औँ मासिक शृङ्खलाको अवसरमा चौतारीकी बागमती प्रदेश सदस्य सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ को विमोचन तथा विमर्श कार्यक्रम आज हेटौँडामा सम्पन्न भएको छ।

अमर मावि हेटौँडामा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया सुमि थिङको यो पहिलो कृतिका रूपमा मुक्तक सङ्ग्रह प्रकाशनमा ल्याइएको हो।

चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार डा. निमेष निखिल र देवराज खरेलको विशिष्ट आतिथ्य रहेको थियो।

कृतिमाथि साहित्यकार सानु खनाल र विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए भने नवसर्जकहरू रोज कार्की र नम्रता पराजुलीले कृतिभित्रका प्रतिनिधि रचना वाचन गरेका थिए।

नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार तथा अमर माविका सहायक प्रअ डी.बी. बर्तौलाको सम्पादनमा प्रकाशित उक्त मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो।

कार्यक्रममा अग्रज साहित्यकार डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रअ मालती उप्रेती, चौतारीका संरक्षक तथा परिकल्पनाकार दीपक गौतम, सल्लाहकार डी.बी. बर्तौला तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

चौतारीकी उपमहासचिव रचना भण्डारीको सहजीकरण तथा कोषाध्यक्ष प्रविना प्रयासीको स्वागत मन्तव्यसहित सम्पन्न कार्यक्रममा कृतिकारकी आमा सुमित्रा थिङ, उनका आफन्तजनलगायत हेटौँडा र आसपासका क्षेत्रबाट ६० भन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

नवसर्जक साहित्य चौतारी नेपालले देशभरका २५ वर्षमुनिका नवसर्जकहरूको नेतृत्वमा पठन तथा लेखन संस्कृतिको विकास गर्दै आएको छ। संस्थाले नवसर्जकका कृति प्रकाशन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने महासचिव स्वस्तिका दाहालले जानकारी दिइन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan