Search
Close this search box.

मनहरीमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्ध सचेतना

हेटौँडा–मकवानपुरको मनहरी गाउँपालिकाले विद्यालयका छात्रछात्रा र शिक्षकलाई मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । फागुन २८ र २९ गते २ दिनसम्म चलेको कार्यक्रममा मनहरी गाउँपालिका अन्तर्गत रहेका १० वटा सामुदायिक विद्यालयबाट कक्षा ५ देखि ९ कक्षासम्मका छात्रछात्रा र सामाजिक विषय शिक्षक सहभागिता रहेको थियो ।

संविधानमा उल्लेख भएका मानव अधिकारको विषयमा जानकारी गराउँदै हाल भइरहेका मानव अधिकार उल्लङ्घनका घटना कसरी न्युनीकरण गर्ने भन्नेबारे विद्यार्थी र शिक्षकलाई सचेत गराइएको थियो । मानव अधिकार संरक्षण गर्दै कसरी स्वतन्त्र रुपले बाँच्ने अधिकारको उपभोग गर्ने भन्नेबारे प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा माइती नेपाल मकवानपुरकी संयोजक माया लामा र हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबाले हालको समयमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेको मानव बेचबिखनविरुद्धमा सचेतना प्रदान गरेका थिए । गाउँ समाजमा हुने मानव बेचविखनबाट कसरी बच्ने भन्नेबारे विद्यार्थी तथा शिक्षकमा लामा र वाइबाले सचेतनामुलक प्रशिक्षण प्रदान गरेका थिए ।

मनहरी गाउँपालिकाको सामाजिक विकास समिति सदस्य तथा कार्यपालिका सदस्य सेतीमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीलगायतको आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले कार्यक्रममा सहजीकरण गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan