हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा, मानव अधिकार र सामाजिक समावेशितालाई समुदायसम्म व्यवहारिक रूपमा पुर्याउने उद्देश्यसहित आयोजित उक्त शिविरलाई प्रभावकारी पहलका रूपमा लिइएको छ।
आयोजकका अनुसार शिविरमा कुल ३४३ जना सहभागी भएका थिए। कार्यक्रममा विशेषगरी पुनर्स्थापना केन्द्रमा उपचाररत सेवाग्राही, जोखिम समूह तथा स्थानीय समुदायका व्यक्तिहरूले सक्रिय रूपमा स्वास्थ्य सेवा लिएका थिए।
शिविरका क्रममा १७१ जनाको HIV तथा Hepatitis C परीक्षण गरिएको थियो। परीक्षणको नतिजाअनुसार HIV संक्रमणको कुनै केस फेला परेन, भने ७ जनामा Hepatitis C संक्रमण देखिएको आयोजकले जनाएको छ। संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई आवश्यक परामर्श प्रदान गरी थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने प्रक्रिया अघि बढाइएको छ। यसले समुदायमा स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्दै प्रारम्भिक पहिचान र उपचारको अवसर बढाउन सहयोग पुगेको बताइएको छ।
स्वास्थ्य शिविरमा अनुभवी चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। सेवाप्रवाह गर्ने टोलीमा डा. गरिमा मैनाली (स्त्रीरोग विशेषज्ञ), डा. विनय प्रताप सिंह (इन्टरनल मेडिसिन विशेषज्ञ) तथा डा. आदित्य यादवेन्द्र (मनोचिकित्सक) सहभागी थिए। साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स तथा हेल्थ असिस्टेन्टहरूले स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवामा सहयोग गरेका थिए।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य परामर्श, संक्रामक रोग स्क्रिनिङ, औषधि परामर्श तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। विशेषगरी लागुऔषध प्रयोगकर्ता तथा पुनर्स्थापनाको प्रक्रियामा रहेका व्यक्तिहरूलाई स्वास्थ्य सेवा र सम्मानजनक व्यवहारको पहुँच उपलब्ध गराउने प्रयासलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए।
आयोजकका अनुसार यस्ता पहलले समाजमा विद्यमान कलंक र विभेद न्यूनीकरण गर्दै स्वास्थ्य सेवामा समान पहुँचको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै बहु–संस्थागत सहकार्य र समुदायको सक्रिय सहभागिताबाट यस्ता कार्यक्रमहरू अझ प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न सकिने धारणा राखिएको छ।
कार्यक्रमको अध्यक्षता सिआन पुनर्स्थापना केन्द्रका सल्लाहकार महेश्वरमान श्रेष्ठले गरेका थिए भने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रतिनिधि, गैरसरकारी महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमल कुमात विश्वकर्मा, गैरसरकारी महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, रिकभरीङ नेपाल बागमती प्रदेश समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, मकवानपुर रिकभरीङ समूह, राइजिङ नेपाल पुनर्स्थापना केन्द्र, ब्रिज अफ होप पुनर्स्थापना केन्द्र, प्रगतिशील टोल विकास संस्था, सृजनशील टोल विकास संस्था, लाम्सुरे हाइट टोल विकास संस्था, पुष्पाञ्जली आमा समूह, पशुपतिनगर हेल्थ क्लब लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समापन समारोहमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईं प्रमुख अतिथि रहेका थिए। उनले स्वास्थ्य शिविरमा सेवा प्रदान गर्ने मेडिकल टोलीलाई प्रमाणपत्र वितरण गरेका थिए।
समुदाय, स्वास्थ्य क्षेत्र र सरोकारवाला निकायहरूको साझा प्रयासबाट सञ्चालन गरिएको यस स्वास्थ्य शिविरले मकवानपुरमा विभेदमुक्त, समावेशी र मानव अधिकारमैत्री स्वास्थ्य सेवाको अवधारणालाई सुदृढ बनाउने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएको छ।


