Search
Close this search box.

संविधान कार्यान्वयनमा राजनीतिक नेतृत्व गम्भीर बन्नुपर्छ; प्रदेश प्रमुख देवकोटा


हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरीलाई संविधानकै दोषका रूपमा व्याख्या गर्न नहुने बताए।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वले विगत एक दशकको समीक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताए।
प्रदेश प्रमुख देवकोटाले संविधान केवल कानुनी दस्तावेज नभई नेपाली जनताका सपना, आकांक्षा र अधिकारलाई संस्थागत गर्ने जीवन्त प्रणाली भएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई राजनीतिक व्यवस्थामा मात्र सीमित नराखी नागरिकको जीवनसँग जोड्नुपर्ने उनले बताए।
उनले संविधानले मुलुकको विविधतालाई एकताबद्ध गर्ने आधार तयार गरेको तथा न्यायपूर्ण र समतामूलक समाज निर्माणको मार्गचित्रका रूपमा काम गरेको बताए।
राज्यका संयन्त्रमा जिम्मेवारी सम्हाल्नेहरूले अधिकारभन्दा कर्तव्य र दायित्वलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता व्यवहारमै देखिनुपर्नेमा जोड दिए। कानुनी राज्यको उपहास हुने गतिविधि हुन नदिन सबै पक्ष सचेत रहनुपर्ने उनले बताए।
समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता घोषणामा नभई यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने बताए।
मुख्यमन्त्री थापाले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता तथा सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई प्रदेशसामुका चुनौतीका रूपमा प्रस्तुत गरे।
नागरिकमा रहेको असन्तुष्टिलाई आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कामबाट सम्बोधन गर्नुपर्ने उनले बताए। संघीयता सुदृढ बनाउन प्रदेशलाई संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानुन निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था आवश्यक रहेको उनले बताए।
समारोहमा नेवा सांस्कृतिक पुचः हेटौँडा, श्री छोर्वा बोन्बो तथा डम्फु सेलो संस्था र चेपाङ संघ मकवानपुरले स्थानीय भेषभूषा तथा संस्कृति झल्काउने झाँकी प्रस्तुत गरेका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan