Search
Close this search box.

सेवा प्रवाहमा शून्य सहनशीलतामा काम गर्न मन्त्री थापाको निर्देशन

हेटौंडा । जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पारे। विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरू समयमै सम्पन्न गर्न सबै कर्मचारी जिम्मेवार र उत्तरदायी बन्नुपर्ने उनको भनाइ थियो।

मन्त्री थापाले सरकारको काम कागजमा मात्र सीमित नभई जनताले दैनिक जीवनमै परिवर्तन महसुस गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता वा लापरबाही स्वीकार्य नहुने बताउँदै उनले पारदर्शिता, इमानदारी र उत्तरदायित्वका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

बैठकमा मन्त्रालयका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने, रोजगारी सिर्जना गर्ने तथा यातायात क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।

मन्त्री थापाले जनअपेक्षा र समयको मागअनुसार मन्त्रालयका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै तहका कर्मचारीलाई सक्रिय, समन्वयात्मक र जनमुखी ढंगले काम गर्न आग्रह गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan