जनप्रिय मावि हेटौँडाले सञ्चालन गरेको एक दिवसीय अभिमुखीकरण कार्यक्रममा शिक्षामा भएको बजेट पर्याप्त नभएको हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले बताउनु भएको छ । शैक्षिक व्यवस्थापन तथा गुणस्तर अभिवृद्धि कार्यक्रममा प्रमुख अतिथि लामाले यस्तो बताउनु भएको हो । कार्यक्रम हेटौँडा उमपहानगरपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको विशिष्ट आतिथ्य तथा विव्यस अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नारायणी नमूना माध्यमिक विद्यालय चितवनका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले सहजीकरण गर्नुभएको कार्यक्रममा विव्यस सदस्य, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु एवम् विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा विद्यालयको समग्र प्रगतिका लागि यस्तो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले बताउनुभयो । प्रमुख अतिथि लामाले विद्यालय शिक्षामा हेटौँडा उपमहानगरपालिकाले पालिका बजेटकै ठूलो हिस्सा रकम खर्च गर्नुपरेतापनि गुणस्तर अभिवृद्धिमा त्यो अझै अपुग रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले जिल्लाकै अग्रभागमा लम्किरहेको जनप्रिय मावि जस्तो विद्यालय हेटौँडा नगरपालिकाको मात्रै सम्पत्ति नरहेर देशकै गहना रहेको बताउनुभयो ।

बालबालिकालाई तुलना गर्न नहुने धारणा राख्दै प्रशिक्षक दवाडीले गल्ती नगर्ने मान्छे कोही नहुने तर गल्ती दोहोर्याउने चाहिँ मान्छेको स्वरूप भए पनि मान्छे नहुने बताउनुभयो ।दवाडीले डाक्टरले गल्ती गर्दा एउटा रोगी मर्छ तर शिक्षकले गल्ती गरे भने कलिला मुनाहरूको भविष्यको हत्या हुनेछ भन्नुभयो । सहजीकरणका क्रममा उहाँले शिक्षकलाई शिक्षण विधिमा प्रत्येक कक्षामा परिवर्तन हुन समेत अपिल गर्नु भएको छ ।
कार्यक्रममा हेटौँडा क्याम्पस हेटौँडाका क्याम्पस सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डल, तहगत संयोजकहरु रविन श्रेष्ठ, नीर बहादुर खड्का, सकल रिजाल, युक्तलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । प्रधानाध्यापक भूपेन्द्र चौलागाईँले स्वागत गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि हेटौँडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाले बालबालिकाले सहज रुपमा शिक्षा प्राप्त गर्नुपर्ने कुरामा उपमहानगरपालिकाले कुनै कसुर बाँकी नराख्न नगरप्रमुखको ध्यानाकर्षण समेत गर्नुभएको थियो । सहभागीका तर्फबाट शिक्षकहरु मनोज पाठक र अनिता सिवाकोटीले धारणा व्यक्त गरेका थिए ।




