हेटौंडा–गाउँबासीलाई सेवा प्राप्तीमा सहजताको लागि मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गाउँटोलमै पुगी सबैखालका सेवा उपलब्ध गराएका छन् । टोलटोलमै गाउँपालिकाको सेवा पाएपछि स्थानीयबासी दंग परेका छन् ।
वृहत एकीकृत घुम्ती शिविरमार्फत गाउँपालिकाले स्वास्थ्य जाँच र औषधि वितरणदेखि कृषि तथा पशुपंक्षीका औषधिसमेत वितरण गरेपछि स्थानीय हर्षित बनेका हुन् । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ विगतका वर्षदेखि गाउँटोलमै पुगी सबै खालको सेवा दिन सुरु गरेको गाउँपालिकाले बुधबार वडा नम्बर १ स्थित दुङ्गुमा एकीकृत सेवा दिएको हो । वडा नम्बर १, २ र ३ लाई समेटेर दुङ्गुबाट सबै सेवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
वडामा स्थान तोकेर निश्चित सेवा उपलब्ध गराइएकोमा अशक्तलाई भने घरमै पुगेर स्वास्थ्य उपचार र निशुल्क औषधि उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङलगायत जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घरघरमा पुगी उनीहरुको लालनपालनको अवस्था बुझ्ने र उनीहरुलाई पोषिलो खानेकुरा वितरणका साथ सम्मानसमेत गरेका छन् ।
बुधबारको एकीकृत शिविरमा कृषि तथा पशुपन्छी तर्फ १८० परिवारलाई घाँसको बीउ र पुश औषधि वितरण गरिएको थियो भने २०० थान तरकारीको मिनिकिट र २० थान टनेल प्यास्टिक वितरण गरिएको थियो । ३ वटा कृषक समूहालई अनुदानमा मिनी टिलर र १० थान स्प्रे पम्प र २० वटा ग्रीन नेट उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

एकीकृत शिविरमा २६० जनाले निःशुल्क स्वास्थ्य जाँच सेवा लिनुका साथै निःशुल्क औषधिसमेत प्राप्त गरेका थिए । २५० जनाले आयुर्वेदतर्फको सेवा लिएको गाउँपालिका अध्यक्ष मल्लले बताए । शिविरकैबीच २५ जना सुत्केरीलाई सुनौलो हजार दिन कार्यक्रमअन्र्तगत खाद्यान्न तथा अन्य सामाग्री वितरण गरिएको थियो । शिविरकैबीच ४ जनालाई अपाङ्गता परीक्षण गरी कार्ड वितरण गरिएको थियो भने लघुउद्यमतर्फ ५ जनालाई मौरीको प्रविधि हस्तान्तरण गरिएको थियो ।
शिविरमा नवउद्यमशिलता सिर्जना गर्न २७ जनाले फारम भरेका छन् भने २४ जनाले उद्यमशिलता सम्बन्धी परामर्श र ५० जनाले स्वरोजगार कार्यक्रमका लागि फारम भरेका थिए । ३ वटा वडाका १२ जना ज्येष्ठ नागरिकलाई अध्यक्ष मल्ल, उपाध्यक्ष थिङसहित, वडाध्यक्षहरुले घरमै पुगी सम्मान गर्नुका साथै उनीहरुलाई पोषिलो खानेकुरा वितरण गरेका थिए । ज्येष्ठ नागरिकको हेरचाहको अवस्था बुझ्नुका साथै अपहेलनामा परेको भए उनीहरुको परिवारलाई परामर्श दिने उद्देश्यले ज्येष्ठ नागरिक सम्मान तथा घरघरमै भेटघाटमा पुगेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
गाउँपालिकाले सबै वडालाई समेट्ने उद्देश्यले चैत १६ गते राक्सिराङ ९ डन्टार, चैत १८ गते ८ नम्बर वडाको पाम्बुङ र २० गते ७ नम्बर वडाको जुरेथुममा एकीकृत घुम्ती शिविरको आयोजना गरेको छ ।






