हेटाैँडा- मेलबर्नको हल्का चिसो साँझ, द सोभेरियन रिसेप्सनको सभाहलमा भरिएका अनुहारहरुले कवि जेनन नेपालका कविता सुनेर सन्तुष्ट बने । ‘क्यानभास १ : जेनन नेपाल साँझमा उनका कविताले सबैकाे ध्यान खिच्याे । एउटा साहित्यिक जमघट नेपालीहरुमाझ गहिराे आत्मीयता साटासाट गर्ने अवसर पनि बन्याे ।
ग्लेनरोय डाउनटाउन प्रोडक्सनको आयोजनामा सम्पन्न उक्त साँझमा जेनन नेपालले आफ्ना १२ नेपाली कविता र ५ हिन्दी ग़ज़ल प्रस्तुत गरेका थिए । उनले सरल तर, स्राेतामाझ गहिरो प्रभाव छोड्ने खालका कविता सुनाएका थिए । सहभागीले कवितामा आफ्नै जीवनका भाेगाई र अनुभवहरु गुन्जिरहेकाे आभास गर्न पाए ।
उनको कविता ‘सिकाई’का पङ्क्तिहरूले साँझलाई विशेष बनायो—
“गोलो गोलो अण्डा
पुलिसको डन्डा
हनुमानको पुच्छर
स्वर्ग जाने बाटो
‘क’
सुरुवात मै
मृत्यु पढेर
मर्नुलाई स्वर्ग को भ्रम बाँचेर
यति बिघ्न जान्ने भइसकेपछि
मर्नुकै डर पालेर त के बाँच्नु?”
यी पङ्क्तिहरूले बाल्यकालको सामान्य सिकाइबाट जीवनको गम्भीर प्रश्नसम्मको यात्रा सहजै देखायाे ।
कार्यक्रममा संगीतले पनि आफ्नै मिठास थपेकाे थियाे । सुवास तिमल्सिनाको स्वर, सौगात लामा र जोयल खातीको वाद्यवादनले शास्त्रीय नेपाली तथा हिन्दी संगीतलाई सहज र आत्मीय बनायो । कविता र संगीतबीचको त्यो मेलले वातावरणलाई शान्त र आनन्ददायक बनाएकाे थियाे ।
कार्यक्रमका मुख्य प्रायोजक ग्र्याम्पियन्स कलेज थिए भने केयर कम्प्याटिबल, जाम नेपाली बजार, सल्भ एजुकेसन र यात्रा द कनेक्शन सहप्रायोजकका रूपमा रहेका थिए ।
मन्तव्य राख्दै भिक्टोरियाका लागि नेपालको महावाणिज्यदूत निराजन गौलीले यस्ता कार्यक्रमले प्रवासमा नेपाली भाषा र संस्कृतिलाई जोगाइराख्न सघाउने विश्वास व्यक्त गरे। गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्य संयोजक महादेव धानुकले पनि यसले नेपाली वाङ्मयलाई नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण काम गरेको बताए ।
ग्र्याम्पियन्स कलेजका प्रमुख कार्यकारी अधिकृत वासु मरहट्टाले जेनन नेपालको व्यक्तित्व र सिर्जनशीलताको प्रसंशा गरे ।
ग्लेनरोय डाउनटाउन प्रोडक्सनकी संस्थापक शर्मिला दुलालले ‘क्यानभास’ श्रृंखलालाई प्रवासमा नेपाली मौलिकता जोगाउने सानो तर अर्थपूर्ण प्रयास भएकाे बताइन् । आगामी श्रृंखलामा कवि तथा गजलकार लक्ष्मण संज्याल ‘वाई’लाई प्रस्तुत अर्का संस्थापक थानेश्वर भट्टले जानकारी दिए ।



