Search
Close this search box.

‘जाऔँ पोखरा’ अभियानमार्फत आन्तरिक पर्यटनलाई प्रोत्साहन

‘जाऔँ पोखरा’ अभियानमार्फत आन्तरिक पर्यटनलाई प्रोत्साहन
हेटौंडा । होटल संघ पोखरा नेपालको पहलमा ‘जाऔँ पोखरा’ अभियान २०८२ सार्वजनिक गरिएको छ। शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिइएको उक्त अभियान चैत ६ देखि संचालन भएको अभियान १९ गतेसम्म सञ्चालन हुनेछ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अभियानले विशेषगरी आन्तरिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। यस क्रममा इटहरी, विराटनगर, झापा लगायत पूर्वी नेपालका प्रमुख सहरहरूमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। अभियान नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको हो।

आयोजकले पछिल्लो समय विश्वव्यापी आर्थिक प्रभावका कारण विदेशी पर्यटक आगमन घटेको उल्लेख गर्दै दिगो पर्यटन विकासका लागि स्वदेशी पर्यटकको भूमिका महत्वपूर्ण हुने बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै वार्षिक १० लाखभन्दा बढी पर्यटकलाई सेवा दिने लक्ष्य राखिएको छ। भुटान र चीनबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेका छन् भने भारत लगायत अन्य देशमा पनि उडान विस्तारको तयारी भइरहेको छ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखरामा फेवा नव वर्ष महोत्सव, सडक महोत्सव र खाना महोत्सव आयोजना गरिनेछ। साथै भारतीय सहरहरूमा ‘चलिए पोखरा’ अभियान सञ्चालन र अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जनाउने तयारी छ।

पोखरालाई ‘पर्यटनको राजधानी’का रूपमा स्थापित गर्न होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने करिब ६० हजार बेड क्षमता रहेको बताइएको छ। यस क्षेत्रबाट १९ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

पोखरामा बन्जी जम्प, जिप लाइन, प्याराग्लाइडिङ, केबलकार र अल्ट्रालाइट जस्ता साहसिक गतिविधिहरू उपलब्ध रहेको उल्लेख गर्दै आयोजकले प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा पोखराको प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

अभियानअन्तर्गत चैत २९ देखि वैशाख १ गतेसम्म फेवा ताल किनार लेकसाइड क्षेत्रमा २१औँ फेवा नव वर्ष महोत्सव आयोजना गरिनेछ। सो अवसरमा आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल दरमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan