हेटौँडा। कृषि उत्पादनको प्रवर्द्धन, विविधीकरण र प्रभावकारी बजारीकरणलाई टेवा पुर्याउने उद्देश्यसहित बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला शुक्रबारदेखि हेटौँडामा सुरु भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सभाहल परिसरमा सञ्चालनमा आएको मेला चार दिनसम्म चल्नेछ।
मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले कृषि क्षेत्रको दिगो विकासका लागि यस्ता प्रदर्शनीहरू प्रभावकारी माध्यम हुने धारणा राखे। उनले कृषि, उद्योग र वाणिज्यबीचको अन्तरसम्बन्ध बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै कृषि क्षेत्र सुदृढ नभएसम्म समग्र आर्थिक विकास सम्भव नहुने बताए ।
“कृषि प्रधान देश” भन्ने पहिचानलाई व्यवहारमा रूपान्तरण गर्न आधुनिक प्रविधि र प्रणाली अपनाउनुपर्नेमा जोड दिँदै उनले अब उत्पादनमा आधारित र ब्याज सहुलियतसम्बन्धी अनुदानलाई प्राथमिकता दिइने स्पष्ट पारे। अनुदान वितरणमा हुने अनियमितता नियन्त्रण गर्न कडा कदम चालिने पनि उनको भनाइ थियो।
मेलामा सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुर जिल्लाका कृषक तथा उद्यमीहरूको सहभागिता रहेको छ। करिब ४० वटा स्टलमार्फत कोदो, फापर, गेडागुडी, मह, केराका परिकार, च्याउ, माछा, गुन्द्रुक, मसला, बाँस तथा माटोका सामग्रीजस्ता स्थानीय उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
आयोजकका अनुसार सहभागी कृषक तथा उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइनुका साथै आवास र भोजनको व्यवस्था समेत मिलाइएको छ। करिब ६ लाख रुपैयाँ लागतमा आयोजना गरिएको मेलाका लागि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकामार्फत ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले कृषकको मनोबल बढाउने र युवापुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।



