Search
Close this search box.

वैशाख २ गतेदेखि आर्थिक गणना हुँदै, वास्तविक तथ्यांक उपलब्ध गराउन आग्रह

हेटौँडा–आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरुको विद्यमान संख्या, अर्थतन्त्रका क्षेत्र, संरचनाअनुसार आधार र वितरणसम्बन्धी तथ्यांक उत्पादन तथा प्रकाशन गर्ने उद्देश्यले नेपालमा दोस्रो आर्थिक गणना हुने भएको छ । २०८३ वैशाख २ गतेबाट असार ७ गतेसम्म हुने आर्थिक गणनाको लागि कार्यालय स्थापना, गणक तथा सुपरिवेक्षण नियुक्ति, तालिमलगायतका तयारी पूरा भइसकेको जनाइएको छ ।

जिल्ला आर्थिक गणनाको कार्यालय मकवानपुरले जिल्लामा आर्थिक गणना सञ्चालनको तयारीका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै गणनालाई प्रभावकारी बनाउनको लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेको छ । जिल्ला आर्थिक गणना कार्यालयका सुपरीवेक्षक रुद्र बोगटीले जिल्लामा ५९ जना गणक र ९ जना सुपरीवेक्षक नियुक्त गरी गणनाको अन्तिम तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार प्रत्येक प्रतिष्ठानमा प्रश्नावलीअनुसार प्रत्यक्ष अन्तरवार्ता वा इ–सेन्सस प्रणालीबाट तथ्यांक संकलन गरिनेछ । औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलापका १८ वटा क्षेत्रहरुलाई आर्थिक गणनाले समेट्ने बोगटीले जानकारी दिए ।

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजकसमेत रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आर्थिक गणनाका लागि आउने गणकहरुलाई वास्तविक तथ्यांक उपलब्ध प्राप्त गर्न सहजीकरणका लागि सबै सरोकारवाला निकायलाई अनुरोध गरे । जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ, उद्योग संघ, प्याब्सनलगायतका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी अन्तरक्रियामा अधिकारीले यथार्थ तथ्यांक संकलन गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए । गणकलाई उपलब्ध गराइएको तथ्यांकको सामुहिकतामा मात्रै उपयोग हुने तथा व्यक्तिगत रुपमा दुरुपयोग नहुने कानुनी सुनिश्चितता रहेको भन्दै उनले सबैले निर्धक्क तथ्यांक उपलब्ध गराउन पनि उनले जोड दिए ।

आर्थिक गणनाका लागि हेटौँडा उपमहानगरपालिकामा ३२, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा ५÷५ जना, बकैयामा ४ जना, बागमती र मकवानपुरगढीमा ३÷३ जना, भीमफेदी, राक्सिराङ र इन्द्रसरोबरमा २÷२ जना र कैलाश गाउँपालिकामा १ जना गणक खटाइने आर्थिक गणना कार्यालयले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan