हेटौंडा । हेटौंडामा नक्कली परीक्षार्थी बनेर एसईई परीक्षा दिन पुगेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज बि.क. रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ बजे हेटौंडा–१०, भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्यालयको एसईई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
थप अनुसन्धानका क्रममा बिराज बि.क.ले हेटौंडा–१२ पदमपोखरी निवासी किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

