हेटौँडा–सरकारी विद्यालयमा अभिभावकलाई अकर्षित गर्दै निजी विद्यालयसँग प्रतिष्पर्धा गरी गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि हेटौँडा–१९ मा रहेको अरनिको माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको छ । गत शैक्षिक सत्रबाट कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको विद्यालयले चालु शैक्षिक सत्रबाट कक्षा ४ सम्म अंग्रेजी माध्यममा पढाउने भएको छ ।
सरकारी विद्यालयमै गुणस्तरीय र अंग्रेजी माध्यमको शिक्षा दिन सुुरु गरेपछि निजी विद्यालयमा महङ्गो शुल्क तिरेर पढाइरहेका अभिभावकहरु आकर्षित हुने विश्वासका साथ विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ गरिरहेको विद्यालयका प्रधानाध्यापक विष्णु परियारले जानकारी दिए । अंग्रेजी माध्यमबाट पढाई सुरु गरेसँगै निजी विद्यालयमा पढाइरहेका अभिभावकले आफ्नो विद्यालयमा भर्ना गराउन थालेको परियारले बताए ।
नेपाली माध्यमबाट मात्रै विद्यालय सञ्चालन गरेर हुन्न भन्ने सोचाइका साथ वडा अध्यक्षको विशेष पहलकदमीमा गत वर्षदेखि अंग्रेजी माध्यमको पढाई सुरु गरेको उनले बताए । अंग्रेजी माध्यमबाट पढाई सुरु गरेको पहिलो वर्षको नतिजा राम्रो रहेको विद्यालयले जनाएको छ । ४ कक्षादेखि भने अंग्रेजी र नेपाली दुवै माध्यमको पढाई सुरु हुनेछ । विद्यार्थीको आफूलाई इच्छा लागेको माध्यम छान्न पाउनेछन् । कम शुल्कमा राम्रो र मायालु वातावरणमा सिकाई उपलब्धिसहितको शिक्षा दिने प्रधानाध्यापक परियारको भनाई छ ।
निजी विद्यालय बराबरको गुणस्तरीय शिक्षा दिने लक्ष्यसहित निजी स्रोतकोसमेत शिक्षक भर्ना गरी पढाई भइरहेको सहायक प्रधानाध्यापक राजु घलेले बताए । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीले भौगोलिक विकटता रहेको आफ्नो वडाको शिक्षाको अवस्था सुधारका लागि प्रयाप्त प्रयास गरिएको बताए । अंग्रेजी माध्यमको पढाइसँगै विद्यार्थीको सिकाइ उपलब्धीमा समेत परिवर्तन हुने उनले विश्वास व्यक्त गरे । विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष रामप्रसाद पौडेलले विद्यार्थीको पढाई सुधारका लागि शिक्षकसँगै स्वयम् विद्यार्थी र अभिभावकको पनि उत्तिकै भूमिका हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गान्धी घलानले ३ कक्षासम्म अंग्रेजी माध्यमको पढाई सुरु भएपछि विद्यार्थी र अभिभावक समेत उत्साही भएको दावी गरिन् । उनले आफूहरुको गुणस्तरीय शिक्षा दिने अभियानमा साथ दिनका लागि सबैमा अनुरोध समेत गरिन् । २०३२ सालमा स्थापना भएको यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ५०२ जना विद्यार्थी भर्ना भएका थिए ।


