Search
Close this search box.

बागमती प्रदेशका दुई महत्त्वपूर्ण विधेयक थप छलफलका लागि समितिमा पठाइए

हेटौंडा । बागमती प्रदेश सभाले आर्थिक अनुशासन र सेवा प्रवाहसँग सम्बन्धित दुई महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सभा बैठकले यी विधेयकहरूलाई थप अध्ययन र आवश्यक संशोधनका लागि अघि बढाएको हो।

बैठकले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक” र “प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक”लाई अर्थ तथा विकास समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। अब समितिले सरोकारवाला निकायसँग परामर्श गर्दै विधेयकका प्रावधानमाथि विस्तृत छलफल गरी संशोधनसहित प्रतिवेदन तयार गर्नेछ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक कार्यविधिसम्बन्धी विधेयक प्रस्तुत गर्दै प्रदेशमा वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न यसको आवश्यकता औंल्याए। त्यसैगरी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले स्वच्छ खानेपानीको पहुँच विस्तार र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित विधेयक महत्त्वपूर्ण रहेको बताए।

प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। अब समितिमा हुने दफावार छलफलपछि संशोधित विधेयक पुनः प्रदेश सभामा प्रस्तुत गरिनेछ।

यसैबीच, प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan