Search
Close this search box.

जेनजी आन्दोलनपछि क्षतिग्रस्त सरकारी भवन पुनर्निर्माण

हेटौँडा । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बागमती प्रदेशका सरकारी भवनहरूको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा आयोजित कार्यक्रममा पुनर्निर्मित भवनहरूको उद्घाटन गर्नुभयो।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख भूपेन्द्र यादवका अनुसार प्रारम्भिक मर्मत तथा सम्भारका लागि १ करोड २८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। पछि थप संरचनागत सुधारसहित समग्र पुनर्निर्माण कार्यका लागि करिब ३ करोड ९५ लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

मुख्यमन्त्री बानियाँले आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रदेशका मन्त्रालयहरूले असहज अवस्थामा सेवा दिनुपरेको स्मरण गर्दै अब पुनर्निर्माणपछि नियमित र सहज रूपमा कार्यसम्पादन गर्न सकिने बताउनुभयो। उहाँले बागमती प्रदेशले अन्य प्रदेशको तुलनामा छिटो क्षतिग्रस्त संरचनाहरू पुनःस्थापना गरेको दाबी पनि गर्नुभयो।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले पुनर्निर्माणका क्रममा भवनको संरचनात्मक सुरक्षालाई उच्च प्राथमिकता दिइएको जानकारी दिनुभयो। आगजनीका कारण कमजोर बनेका संरचनाहरूको अवस्था मूल्याङ्कन गर्न विज्ञ तथा स्ट्रक्चरल इन्जिनियरहरूको टोली परिचालन गरिएको र आवश्यक प्राविधिक परीक्षणपछि मात्रै मर्मत कार्य अघि बढाइएको उहाँले बताउनुभयो।

पुनर्निर्माण अन्तर्गत चार मन्त्रालय रहेको मुख्य भवनसँगै प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा प्रमुख सचिवको निवाससहित पाँच वटा संरचना पुनःनिर्माण गरिएको कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan