Search
Close this search box.

२० लाख लगानीमा गाउँपालिका अध्यक्ष कालाखेतीले गरिदिए सडक ढलान

हेटौँडा–मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले करिब २० लाख रुपैयाँ व्यक्तिगत लगानी गरी सडक ढलान गरिदिएका छन् । मनहरी गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालयसम्म पुग्ने ६ मिटर चौडाईको करिब २०० मिटर सडक ढलान सम्पन्न गरी बिहीबार उद्घाटन गरिएको हो ।

स्थानीय ज्येष्ठ नागरिक कुलबहादुर स्याङ्तानबाट रिबन काटेर सडक उद्घाटन गरिएको हो । जेनजी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजना प्रभावित भएपछि स्थानीयको आवश्यकता र मागलाई ध्यानमा राखी व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको अध्यक्ष कालाखेतीले बताए । ‘धुलो र प्रदूषणका कारण टोलवासीलाई धेरै समस्या थियो । गाउँपालिकाबाट राखिएका योजनाहरु पनि कटौती गर्नुपर्ने बाध्यता परेपछि यो ठाउँमा तत्काल सडक ढलान आवश्यक देखेर आफ्नै लगानीमा काम गरेको हुँ,’ अध्यक्ष कालाखेतीले भने । उनले जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सेवा नलिएको र प्राप्त तलबभत्ता समेत जनतामै खर्च गर्दै आएका छन् ।

मनहरी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष राजकुमार पाख्रिनले गाउँपालिका अध्यक्षले व्यक्तिगत लगानीमा सडक स्ल्याब ढलान गरेकोमा खुसीका साथै आभार प्रकट गरे । २ नम्बर वडालाई राष्ट्रिय राजमार्गसम्मको पहुँच विस्तारका लागि सडक स्तरीकरण तथा पुल निर्माणमा पनि पहल कदमी गर्न पाख्रिनले अध्यक्ष कालाखेतीलाई आग्रह गरे । सडक उद्घाटन कार्यक्रममा वडा नम्बर २ का समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी–५ मा विपन्न एक परिवारको घर निर्माण गरिदिएका छन् । मनहरी–६ मा अर्को घर निर्माण कार्य भइरहेको छ । यस्तै, विपन्न बालबालिकाको लागि छात्रवृत्ति तथा पोसाकमा उनले तलबभत्ताबापत प्राप्त हुने रकम खर्च गर्दै आएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan