Search
Close this search box.

हेटौंडामा ट्रकमा च्यापिएर सहचालकको ज्यान गयो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ क्षेत्रमा भएको ट्रक दुर्घटनामा एक सहचालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त स्थानमा रोकिएको ट्रक सफा गर्ने क्रममा अचानक अर्को ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना. ७ ख ७०१८ नम्बरको लहरी ट्रक अगाडि रोकेर सहचालकले सिसा सफा गरिरहेका बेला चालकले गाडी अघि बढाउँदा अगाडि पार्क गरिएको ना. ६ ख ४२८९ नम्बरको ट्रकसँग ठोक्किएको थियो। सो क्रममा पर्सागढी नगरपालिका–३ का २३ वर्षीय फुलकान्त थारु गम्भीर घाइते भएका थिए।

घाइते थारुलाई  हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई चितवनको भरतपुर अस्पताल रिफर गरिएको थियो। तर उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न लहरी ट्रकका चालक पर्साको ठोरी गाउँपालिका–१ का ३२ वर्षीय एकराज तिमिल्सेना र अर्का चालक उदयपुरका २९ वर्षीय भविस तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan