हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित घर तथा निर्माण कम्पनीका कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। सोमबार विभागले हेटौँडाको सानोपोखरा स्थित बानियाँ निर्माण सेवा ९बीएनएस० र काठमाडौँस्थित कार्यालयमा छापा मारेर आवश्यक कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ।
यस घटनापछि मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै छानबिन प्रक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको भएको बताएका छन् । उनले आफू लामो राजनीतिक यात्रापछि हाल जनताको सेवामा समर्पित रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
विज्ञप्तिमा उनले प्रदेश सरकारको कामकारबाहीमा पारदर्शिता र आर्थिक मितव्ययीतालाई नीतिगत रूपमा अगाडि बढाइएको दाबी गरेका छन् । साथै, राज्यका कुनै पनि निकायले गर्ने कानूनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर, विभागले अकस्मात् छापा मारेकोप्रति उनले आपत्ति जनाउँदै आवश्यक परे आफू स्वयम् उपस्थित भएर सहयोग गर्न तयार रहेको बताएका छन् । सञ्चार माध्यममा आएको समाचारका कारण आफ्नो व्यक्तिगत र सामाजिक छविमा असर परेको उनले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री बानियाँले सम्पूर्ण नागरिक, शुभेच्छुक तथा समर्थकहरूलाई भ्रममा नपर्न आग्रह गर्दै आफू सधैं जनताको सेवामा प्रतिबद्ध रहने बताएका छन् । साथै, संवैधानिक र कानूनी दायराभित्र रहेर हुने हरेक अनुसन्धानमा आफ्नो साथ रहने पुनः स्पष्ट पारेका छन् ।



