Search
Close this search box.

जनप्रिय माविले गर्यो नगर प्रथम हुँदै जिल्लाकै सर्वोत्कृष्ट दावी

शैक्षिक वर्ष २०८२ को एसईई नतिजामा सामुदायिक विद्यालयतर्फ जनप्रिय माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका प्रथम भएको छ । यो नतिजासँगै विद्यालयले आफूलाई जिल्लाकै सर्वोत्कृष्ट दावी गरेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईले बताए ।

कुल १ सय २० जना विद्यार्थी सामेल भएको परीक्षामा ७७.५ प्रतिशत विद्यार्थी ग्रेडेड भई जनप्रिय मावि हेटौँडा नगर प्रथम भएको हो । यो नतिजा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जिल्ला प्रथम हो वा होइन भन्ने आधिकारिकता सार्वजनिक गरे जिल्ला प्रथम समेत हुने प्रधानाध्यापक चौलागाईको दावी छ । यसबारे प्रष्ट के हो आधिकारिक धारणा लिन हामीले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुखलाई टेलिफोन गर्दा समाचार तयार पार्दा सम्म सम्पर्क हुन सकेको छैन ।

यता संस्थागत विद्यालयतर्फ पनि प्रथम को हो त भन्ने विषयमा आ आफ्नै दावी रहेको छ । बालजागृति माध्यमिक विद्यालय हेटौँडाले सर्वोत्कृष्ट नतिजा ल्याई जिल्लामा सर्वोत्कृष्ट स्थान हासिल र लगातार ३ वर्ष ४ जिपिए हासिल गरेको भनी विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

यता ज्ञानदीप शिक्षा निकेतनको पनि आफ्नै दावी छ । हामीले टेलिफोन सम्पर्क गर्न खोज्दा त्यहाँपनि आधिकारिक सम्पर्क हुन सकेन । प्रथम को हो त ?  भन्ने विषयमा आधिकारिक निकायको धारणा पर्खने हो भनेपनि मकवानपुर जिल्लामा यस वर्षको एसईईमा हालसम्म प्राप्त तथ्याङ्क अनुसार ४ जिपिए ल्याउने विद्यालयहरु थुप्रै छन् । जसअन्तर्गत सामुदायिकतर्फ आधुनिक राष्ट्रिय मावि र बालज्योति मावि रहेका छन् भने संस्थागततर्फ बालजागृति मावि, जिएस निकेतन, नवोदय मावि हेटौँडा ४, ब्रम्हदिक मावि र फेमकल मावि पदमपोखरी रहेका छन् ।

जे होस् मकवानपुर जिल्लाको शैक्षिक स्तर गत वर्षको तुलनामा प्रतिशतमा कमजोर देखिएपनि सङ्ख्यामा भन्दा गुणस्तरमा उकालो लाग्दै गरेको भने पक्कै हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan