Search
Close this search box.

मनहरी गाउँपालिकाद्वारा कम गुणस्तरका प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध

हेटौँडा– पश्चिम मकवानपुरस्थित मनहरी गाउँपालिका ले कम गुणस्तरका प्लास्टिक झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले सूचना जारी गर्दै वातावरणीय प्रदूषण नियन्त्रण तथा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको आयात, बिक्री–वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको हो ।

गाउँपालिकाले “प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०८२” अनुसार पालिका क्षेत्रभित्र उक्त व्यवस्था लागू गरिएको स्पष्ट पारेको छ । अबदेखि बजारमा ४० माइक्रोन वा सोभन्दा बढी मोटाइका प्लास्टिक झोला तथा कपडा वा जुटका झोला मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदी द्वारा हस्ताक्षरित सूचनामा प्रत्येक घर तथा व्यवसायबाट निस्कने कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याएर मात्रै सङ्कलन गाडीमा पठाउनुपर्ने उल्लेख गरिएको छ ।

सूचनामा नियम उल्लङ्घन गर्दै कम गुणस्तरका प्लास्टिक झोला प्रयोग गरेमा वा फोहोर वर्गीकरण नगरेमा सम्बन्धित सामग्री जफत गरिनुका साथै कानुनी कारबाही र जरिबाना गरिने चेतावनीसमेत दिइएको छ ।

गाउँपालिकाले वातावरण संरक्षण, स्वच्छ बजार तथा दिगो फोहोर व्यवस्थापनका लागि सबै नागरिक, व्यवसायी तथा सरोकारवालालाई सहयोग गर्न अनुरोध गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan