हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत महालक्ष्मी खोलामा निर्माणाधीन मितेरी पक्की पुल (आर्च ब्रिज) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हेटौँडा–भैंसे–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं जोड्ने छोटो वैकल्पिक सडकमार्गअन्तर्गत निर्माण भइरहेको पुल आगामी जेठ अन्तिम सातासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीका अनुसार पुलको माथिल्लो भागमा ढलान गर्ने तथा दुवैतर्फ पहुँचमार्ग निर्माण गर्ने काम मात्रै बाँकी छ । उनका अनुसार हालसम्म करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
गत वर्ष असोज ११ र १२ गते आएको बाढीले महालक्ष्मी क्षेत्रको पुल तथा सडकमा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मकवानपुरले २०८१ असार ६ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
१५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको उक्त पुल निर्माणको जिम्मा ताण्डव, नारायण, सरस्वती जेभी ले लिएको हो । मूल्य अभिवृद्धि कर र पिएससहित ४ करोड ६१ लाख ७७ हजार ५३० रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको वित्तीय प्रगति ८८.३१ प्रतिशत तथा भौतिक प्रगति ९० प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।
यसैबीच, हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने भन्ज्याङ सडकखण्ड फराकिलो बनाउने तथा ग्रेडिङ मिलाउने काम सम्पन्न भइसकेको भए पनि सबै खण्डमा कालोपत्र भने हुन बाँकी रहेको जनाइएको छ ।
गत असोजको बाढीपहिरोले महालक्ष्मी क्षेत्रमा करिब आधा किलोमिटर सडक बगाएको थियो । हाल सडक पुनर्निर्माणसँगै खोलाबाट सडक जोगाउन पर्खाल निर्माण, नाली व्यवस्थापन तथा अन्य संरक्षण संरचना निर्माणको कामसमेत गरिएको कार्यालयले जनाएको छ ।


