हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत स्थित भिमफेदी–कुलेखानी सडकखण्डमा इभि दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ साल जेठ ६ गते वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको इभि तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बायाँ साइडको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित ८ जना सवार रहेकोमा ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नेशनल अस्पताल, कलंकी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबाट इभिमा क्षति पुगेको भए पनि सडक अवरुद्ध नभएको र सवारीसाधन घटनास्थलमै रहेको बताइएको छ।
घाइतेहरू
१.मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ लालझाडी बस्ने वर्ष ३९ का चालक पूर्णबहादुर रुम्बा – छातीमा सामान्य चोट।
२.तनहुँ बन्दीपुर नगरपालिका–९ बस्ने वर्ष ३८ का मनोज गुरुङ – दाहिने खुट्टामा सामान्य चोट।
३. मनोज गुरुङकी श्रीमती वर्ष २८ की उषा गुरुङ- निधारमा सामान्य चोट।
४.धनुषा मुखियापट्टी मुसहरमिया गाउँपालिका–४ बस्ने वर्ष ४१ का विकास झा-दाहिने हातमा सामान्य चोट।
५.भारत, बिहार राज्य, सितामढी जिल्ला मेजरगञ्ज-९ बस्ने वर्ष ३४ का सोनु रौनियार – छातीमा सामान्य चोट।
६.सोनु रौनियारकी श्रीमती वर्ष २७ की संगिता रौनियार – शरीरका विभिन्न भागमा भित्री चोट, अवस्था सामान्य।
