Search
Close this search box.

लागूऔषधदेखि साइबर अपराधसम्म प्रहरी सक्रिय

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म लागूऔषध नियन्त्रण, साइबर अपराध नियन्त्रण, घरेलु मदिरा नियन्त्रण तथा अवैध उत्खनन रोकथाममा उल्लेख्य कारबाही गरेको जनाएको छ ।
उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै सयौँ व्यक्तिलाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले सार्वजनिक गरेको विवरणअनुसार १० महिनाको अवधिमा प्रहरीले २ हजार ७ सय ३७ किलोग्राम गाँजा, १ सय २१ किलो ४ सय ३० ग्राम चरेश, २८ किलो अफिम र २ सय ७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । साथै २७ हजार ६ सय ३१ क्याप्सुल ट्रामाडोल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लागूऔषध ओसारपसारमा संलग्न ३ सय ६ जनालाई पक्राउ गरिएको छ भने त्यसमा प्रयोग भएका ३४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानमार्फत कारबाही, जरिवाना तथा कैदबाट ४४ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै २२ लाख २६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामग्री पनि बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
साउनदेखि वैशाखसम्म जिल्लामा ९२ वटा मोटरसाइकल चोरी भएकोमा १६ वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका क्रममा एउटा स्काभेटर, २० वटा टिपर र १ सय १ वटा ट्र्याक्टरमाथि कारबाही गरिएको छ । ती सवारीसाधनबाट ९ लाख ७३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । मंगलबार मात्रै एउटा स्काभेटर नियन्त्रणमा लिई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरी प्रमुख खत्रीले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४ सय जनामाथि कारबाही गर्दा २ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । लागूऔषध सेवन गरेर सवारी चलाउने ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । १० महिनाको अवधिमा २ सय ५५ वटा अनलाइन ठगी तथा स्क्यामका घटना दर्ता भएका छन् । फेसबुक ह्याकका १६, फेक फेसबुक आइडीका १९ तथा टिकटक लगायत सामाजिक सञ्जालमार्फत भएका १५ वटा अपराधका घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराएका वा चोरी भएका ५ सय ८१ मोबाइलमध्ये १ सय ५ वटा मोबाइल फेला पारिएको छ । घरेलु हिंसाका ४ सय ७ वटा घटना दर्ता भएकोमा ३ सय २८ वटा मिलापत्र गरिएको, ३४ वटा घटनालाई सम्बन्धित निकायमा पठाइएको तथा १७ वटा घटनाको फर्स्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले ७ सय ९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको समेत जानकारी दिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan