हेटौँडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिका का युवाहरूले गाउँलाई सफा र व्यवस्थित बनाउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरेका छन् । “आफ्नो गाउँ आफैँ सफा गरौँ” भन्ने नारासहित एक सातादेखि स्थानीय युवाहरू नियमित रूपमा अभियानमा जुटिरहेका हुन् ।
गाउँपालिका वडा नम्बर–३ आसपास, मनकामना डेरी चोक, फुट्सल क्षेत्र तथा सडक किनारमा जथाभावी फालिएका फोहोर सङ्कलन गर्दै युवाहरूले सरसफाइ अभियानलाई निरन्तरता दिएका छन् । अभियानका क्रममा मदिरा र पानीका बोतल, चाउचाउ तथा चिप्सका खोल, गुड्खा र सुर्तीजन्य पदार्थका प्याकेटलगायत प्लास्टिकजन्य फोहोर बढी भेटिएको सहभागीहरूले बताएका छन् ।
करिब २० जना युवाको सक्रिय सहभागितामा सञ्चालन भइरहेको अभियानबाट हालसम्म एक ट्याक्टर फोहोर सङ्कलन गरिएको छ । सङ्कलित फोहोरलाई व्यवस्थापनका लागि ट्याक्टरमार्फत हेटौँडा उपमहानगरपालिका को डम्पिङ साइटमा पठाइएको जनाइएको छ ।
अभियानमा सहभागी युवा प्रेमप्रसाद तिमल्सिनाले गाउँलाई सफा राख्ने जिम्मेवारी सबै नागरिकको भएको भन्दै त्यसैको सन्देश दिन अभियान सुरु गरिएको बताए । “आफ्नो ठाउँ सफा र राम्रो बनाउने जिम्मेवारी सबैको हो भन्ने सोचका साथ अभियान थालेका हौँ,” उनले भने ।
युवाहरूले सडक किनार, सार्वजनिक स्थल र चोकहरूमा थुप्रिएको फोहोर व्यवस्थापन गर्दै समुदायमा सरसफाइप्रति चेतना फैलाउने प्रयाससमेत गरिरहेका छन् । स्थानीयस्तरमै युवाहरूले देखाएको सक्रियता र सामाजिक उत्तरदायित्वले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ ।
स्थानीय बासिन्दाले युवाहरूको प्रयासको प्रशंसा गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् । सामूहिक प्रयासबाट गाउँलाई सफा, सुन्दर र स्वस्थ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान अहिले उदाहरणीय बन्दै गएको छ ।


