हेटौंडा । बागमती प्रदेश सरकार ले प्रदेशसभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ११ गते बजेट अधिवेशन बोलाउन दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिनेछ ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संख्या घटाइएपछि प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउन कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ । नयाँ संरचनाअनुसार मन्त्रालयहरूको जिम्मेवारी स्पष्ट पार्न नियमावली परिमार्जन गर्न लागिएको जनाइएको छ ।
यसअघि वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत रहेका १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी, स्वास्थ्य क्षेत्रतर्फ पनि दुई अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदस्थापन गरिएको छ । बैठकले भक्तपुर अस्पताल मा डा. त्रिलोचन चन्द्र झा र धादिङ अस्पताल मा डा. नवीन मासिठलाई मेसुका रूपमा जिम्मेवारी दिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।


