हेटौंडा । इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभाको मङ्गलबार बसेको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
सरकारले आगामी वर्ष पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सार्वजनिक खर्च न्यूनीकरण गर्ने नीति अघि सारेको छ। साथै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिइएको छ।
नीति तथा कार्यक्रममा नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने, शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने तथा प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ।
प्रदेश सरकारले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सरल र छरितो बनाउने, विकास आयोजनाको प्रभावकारिता बढाउने तथा सुशासन प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


