Search
Close this search box.

बागमतीको स्वास्थ्यमा ठूलो फड्को, टेलिमेडिसिनदेखि निःशुल्क हवाइ उद्धारसम्म


हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकलाई सहज, गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य अघि सारेको छ । मङ्गलबार प्रदेशसभामा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उपचारको अभावमा कुनै पनि नागरिक पीडित हुन नपर्ने मूल उद्देश्यसहित विभिन्न नयाँ योजना सार्वजनिक गरिएको हो ।

सरकारले आगामी वर्षदेखि डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन सेवा तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरेको छ । सरकारी अस्पताललाई प्रविधिमैत्री बनाउँदै एकीकृत मेडिकल रेकर्ड तथा अनलाइन सेवा प्रणाली लागू गरिने भएको छ । यसबाट नागरिकले घरमै बसेर स्वास्थ्य परामर्श लिन सक्ने र अस्पतालमा लाइन लाग्नुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।

दुर्गम क्षेत्रका जोखिमयुक्त गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाउन निःशुल्क हवाइ उद्धार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । साथै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार गरी बाल तथा मातृ मृत्युदर घटाउने लक्ष्य पनि सरकारले लिएको छ ।

नीति तथा कार्यक्रममा प्रादेशिक अस्पतालहरूमा क्यान्सर, मुटु रोग, मानसिक स्वास्थ्य तथा डायलासिस सेवाको पहुँच बढाइने उल्लेख गरिएको छ । जलन उपचार, कृत्रिम गर्भाधान तथा विशेषज्ञ आँखा सेवाको विकास र विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ । एलोपेथिक र आयुर्वेद चिकित्सालाई एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने तथा स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने योजना समेत सरकारले अघि सारेको छ ।

मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै प्रदेश राजधानी हेटौँडामा प्रदेश गौरव आयोजनाका रूपमा आरोग्य केन्द्र स्थापना गरिने भएको छ । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई संस्थागत रूपमा सुदृढ गर्दै विशेषज्ञ जनशक्ति उत्पादनमा जोड दिइनेछ भने बागमती विश्वविद्यालय लाई विशिष्टीकृत प्राविधिक विश्वविद्यालयका रूपमा विकास गरिने नीति लिइएको छ ।

यससँगै “एक घर, एक धारा” अभियानमार्फत सुरक्षित खानेपानीको पहुँच विस्तार गरी पानीजन्य रोग न्यूनीकरण गर्ने, महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध द्रुत उद्धार र मनोसामाजिक परामर्श सेवा विस्तार गर्ने तथा सरकारी सेवा र पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan