हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित तराई–मधेश द्रुतमार्ग अन्तर्गत सुरुङ निर्माणस्थलमा सोमबार काम गर्ने क्रममा भएको दुर्घटनामा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुरुङमा प्रयोग हुने रिपिट तथा ढुंगा (फलामबाट बनेको उपकरण) खस्दा बर्दियाका ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए। साथै, थाहा नगरपालिका–५ सानोपाखा निवासी २२ वर्षीय सन्तोष बम्जनको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि चुरेहिल अस्पताल मकवानपुर पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा रामगोपाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घाइते बम्जनको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ। मृतकको शव सरकारी अस्पताल हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


