हेटौंडा । हेटौँडामा ५४औँ विश्व वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरिने भएको छ । टोल विकास संस्था नगर समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै जेठ १६ गतेदेखि २२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो ।
समितिका अध्यक्ष धुव्र अधिकारीका अनुसार कार्यक्रम अन्तर्गत जेठ १६ र १७ गते विशेष सरसफाइ अभियान सञ्चालन गरिनेछ । त्यस्तै, १७ गते ‘भान्छा नै औषधालय’ विषयक सचेतना कार्यक्रम पनि आयोजना हुनेछ ।
जेठ १८ गते ‘फोहोर खोज चुनौती’ कार्यक्रम राखिएको छ भने १९ गते हेटौँडा–१ मा वृक्षारोपण तथा हेटौँडा–७ मा प्लास्टिक मुक्त सचेतना अभियान सञ्चालन गरिने जनाइएको छ ।
यसैगरी जेठ २० गते ‘बोत्तल देऊ, बिरुवा लिउ’ कार्यक्रमसँगै ‘प्रकृति संवाद यात्रा–२०८३’ आयोजना हुनेछ । जेठ २१ गते जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा खेर गएका सामग्रीबाट बनाइएका वस्तुको प्रतिस्पर्धा गरिनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते वातावरण सचेतना ¥याली, समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ ।
यस वर्षको विश्व वातावरण दिवसको मुख्य नारा ‘प्रकृतिको प्रेरणा, जलवायुको संरक्षण, भविष्यको सुनिश्चितता’ रहेको छ ।


