हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट टेलर गाडी खोलामा खस्दा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ करिब ६:२० बजे हेटौंडाबाट बगुवा तर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको बागमती हाइड्रोपावरको फलामको पाइप बोकेको टेलर गाडी अनियन्त्रित भई पुलबाट तल बागमती खोलामा खसेको थियो । पाइप बाँधिएको टुचिन चुडिएपछि गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
दुर्घटनामा टेलर चालक हेटौंडा उपमहानगरपालिका–३ का अन्दाजी ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएका थिए भने सहचालक राक्सिराङ गाउँपालिका–९ का १७ वर्षीय प्रशन्न प्रजा सकुशल रहेका छन्।
खोजतलासको क्रममा शनिबार राति करिब ८:२० बजे क्रेनको सहायताले टेलरलाई खोलाबाट बाहिर निकालिएको र चालक बर्तौला गाडीको स्टेयरिङमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

