हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो चार दिनमा विभिन्न स्थानमा सञ्चालन गरेको सुरक्षा जाँच अभियानका क्रममा १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबारदेखि आइतबारसम्म गरिएको निगरानी तथा चेकजाँचका क्रममा खैरो हेरोइन, गाँजा, चरेश र ट्रामाडोल बरामद गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये बारा र रौतहटका तीन युवाको साथबाट सबैभन्दा बढी परिमाणमा खैरो हेरोइन फेला परेको छ। उनीहरूको साथबाट ३४ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी हेटौँडाका विभिन्न स्थानबाट पक्राउ परेका चार जनाको साथबाट २२० मिलिग्राम खैरो हेरोइन फेला परेको छ। अन्य चार जनाबाट गाँजा र ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २१ ग्राम ३७० मिलिग्राम गाँजा र २ क्याप्सुल ट्रामाडोल फेला परेको थियो।
यस्तै हेटौँडा र चितवनका दुई जनाको साथबाट थप १ ग्राम ८४० मिलिग्राम गाँजा बरामद गरिएको छ। प्रहरीको विवरणअनुसार समग्रमा ३५ ग्राम १० मिलिग्राम खैरो हेरोइन, २३ ग्राम २१० मिलिग्राम गाँजा, २६० मिलिग्राम चरेश तथा २ क्याप्सुल ट्रामाडोल बरामद भएको छ।
शंकास्पद गतिविधिका आधारमा गरिएको सुरक्षा जाँचका क्रममा लागूऔषध फेला परेपछि सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


