Search
Close this search box.

अभिभावक र विद्यार्थीको सोच नबदलिँदासम्म बालविवाह अन्त्य कठिन : अध्यक्ष मुक्तान

कैलाश – कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई अभिभावक र विद्यार्थीको सोच तथा व्यवहारमै परिवर्तन आवश्यक रहेको बताएका छन् ।

मंगलबार कैलाश गाउँपालिकामा आयोजित ‘बालविवाह विरुद्ध समुदाय परिचालन कार्यक्रम’ अन्तर्गत सरोकारवालाबीचको सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले बालविवाह न्यूनीकरणको मुख्य आधार अभिभावकको चेतनास्तर बढाउनु भएको बताए ।
उनले कैलाश क्षेत्रमा विशेषगरी चेपाङ र तामाङ समुदायको बसोबास रहेकाले ती समुदायमा लक्षित सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। “बालविवाह कानुनी अपराध भए पनि अझै समाजमा यसप्रति पर्याप्त चेतना विकास हुन सकेको छैन,” उनले भने।
बालविवाह रोकथामका लागि गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने युवायुवतीलाई गाउँसभाको अवसरमा नगदसहित सम्मान गर्ने व्यवस्था गरेको अध्यक्ष मुक्तानले जानकारी दिए। चेली प्रोत्साहन कार्यक्रमले समेत बालविवाह न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन ले समुदायस्तरमा विद्यमान सामाजिक विकृतिका कारण बालविवाह नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । “टोल–समाजमा बालविवाह र बहुविवाहका घटना अझै भइरहेका छन्। रोक्न खोज्दा कतिपय अवस्थामा युवायुवती भाग्ने गरेका कारण नियन्त्रण सहज छैन,” उनले भने। परिवारबाटै सकारात्मक संस्कारको विकास हुन नसक्दा पनि बालविवाहका घटना दोहोरिने गरेको उनको धारणा थियो ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री ले बालविवाहले बालबालिकाको वर्तमान मात्र नभई भविष्यसमेत प्रभावित हुने बताइन् । शिक्षित, सुरक्षित र समृद्ध समाज निर्माणका लागि बालविवाह अन्त्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले यसका लागि अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सबै सरोकारवालाको सक्रिय सहभागिता र साझा प्रतिबद्धता आवश्यक रहेको बताइन् ।
कार्यक्रममा बाल अधिकारकर्मी संगीता उप्रेती र भवानी अधिकारी ले सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, कार्यपालिका सदस्य तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा का अनुसार दुईदिने कार्यक्रम अन्तर्गत पहिलो दिन सरोकारवालासँग अन्तरक्रिया गरिएको छ भने दोस्रो दिन दुई वटा माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षक लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan