Search
Close this search box.

हेटौंडा–४ मा विशेषज्ञसहित स्वास्थ्य शिविर हुँदै


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ मा जेठ ३० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म हेटौंडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर आयोजना गरिने भएको हो।

हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहआयोजनामा सञ्चालन हुने शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष सहयोग गर्नेछ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले शिविरको व्यवस्थापन गर्ने जनाएको छ।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहकार्यमा यस प्रकारको बृहत् स्वास्थ्य शिविर तेस्रो पटक आयोजना हुन लागेको हो।
शिविरमा मुटुरोग, क्षयरोग तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। साथै भिडियो एक्स–रे, ईसीजी, ईको सेवा निःशुल्क उपलब्ध गराइनेछ। सुगर तथा लिपिड प्रोफाइल परीक्षण, छातीको एक्स–रे र पीएफटी (दम परीक्षण) समेत निःशुल्क गरिने जनाइएको छ।
महिलाहरूका लागि पाठेघर तथा पाठेघरको मुखको क्यान्सर परीक्षणको व्यवस्था गरिएको छ। यसका अतिरिक्त जनरल फिजिसियन सेवा तथा आवश्यक परेमा सात दिनसम्मका लागि औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ।

वडा अध्यक्ष सिग्देलले स्वास्थ्य शिविरबाट प्रदान गरिने निःशुल्क सेवाको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार शिविरको मुख्य उद्देश्य स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच विस्तार गर्नुका साथै स्वस्थ नगर निर्माण अभियानलाई प्रभावकारी बनाउनु रहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan