मनहरी– ५४ औँ विश्व वातावरण दिवसको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकामा वृक्षरोपण तथा सचेतनामुलक र्याली आयोजना गरिएको छ । मनहरी गाउँपालिकाको आयोजनामा मनहरी–९ स्थित अग्निहोत्राश्रम परिसरमा विभिन्न फलफूल र अन्य बोट विरुवा गरी करिब सय वटा बिरुवा रोपण गर्नुका साथै रजैयाबाट लामिटारसम्म सचेतनामुलक र्यालीसमेत गरिएको थियो ।
सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, सामाजिक विकास शाखाका प्रमुख ज्ञानेन्द्र ढकाललगायत कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, टोल विकास समितिका प्रतिनिधिको सहभागिता रहेको थियो ।
भोजसिद्ध माध्यमिक विद्यालय, पशुपति मावि र युवावर्ष गंगा आधारभूत विद्यालयका विद्यार्थीहरुसमेतको सहभागितामा जनचेतनामुलक प्लेकार्ड बोकेर र्याली गरिएको थियो । प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि भन्ने नाराका साथ विश्वभर वातावरण दिवस मनाइरहिएको छ । हरेक वर्ष जुन ५ तारिकका दिन विश्व वातावरण दिवस मनाउने गरिएको छ । वातावरण संरक्षणमा जागरुकता बढाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९७२ बाट विश्व वातावरण दिवस मनाउन सुरु गरेको हो ।




