हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश प्रथम अधिवेशन हेटौँडामा सुरु भएसँगै नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा चर्चाको केन्द्र बनेको छ। दुई दिनसम्म चल्ने अधिवेशनले ६५ सदस्यीय प्रदेश समिति चयन गर्नुका साथै आगामी राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक र संगठनात्मक मार्गनिर्देशन तय गर्नेछ।
हेटौँडा–१ स्थित हिमालयन दरबारमा सुरु भएको अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले गर्नुभएको छ। यसअघि पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा उनको सहभागिता नभएपछि बुर्लाकोटीले उद्घाटन गर्नुभएको हो ।
प्रदेश सभापति पदका लागि वर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने, प्रदेश प्रवक्ता उत्सव अर्याल र धादिङका कृष्णमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ। सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहे पनि विभिन्न पदमा एकभन्दा बढी आकाङ्क्षी देखिएकाले निर्वाचनको सम्भावना बलियो बनेको छ।
पुनः सभापतिको दाबी गरेका डा. लामिछानेले प्रदेश संगठनलाई थप सुदृढ बनाउन निरन्तरता आवश्यक रहेको बताउनुभएको छ। अर्का दाबेदार उत्सव अर्यालले भने वर्तमान नेतृत्व संसदीय जिम्मेवारीमा व्यस्त रहेकाले संगठनलाई पूर्ण समय दिन सक्ने नेतृत्व आवश्यक रहेको तर्क गर्नुभएको छ।
उपसभापति पदमा डा. रमेश ढकाल र मेनुका ठकुरी आकाङ्क्षी देखिएका छन् भने वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा दोहोरिने तयारीमा हुनुहुन्छ ।
रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तालगायत पदाधिकारी चयन गरिने व्यवस्था छ।
अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लाबाट छनोट भएका करिब १ हजार ५ सय प्रतिनिधिको सहभागिता रहेको छ। पार्टीका अनुसार प्रदेशका अधिकांश वडा र सबै स्थानीय तहमा संगठन विस्तार भइसकेको छ।
अधिवेशनमा संगठन विस्तार, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसरोकारका विषय तथा आगामी राजनीतिक रणनीतिबारे पनि छलफल हुने कार्यक्रम छ। रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ।

