Search
Close this search box.

निर्वाचनको धक्का अस्थायी, एमाले उठ्छ ; ज्ञवाली


मकवानपुर । नेकपा एमालेकी केन्द्रीय सदस्य देवि ज्ञवाली ले निर्वाचन परिणामबाट पार्टीलाई लागेको धक्का अस्थायी भएको भन्दै एमाले धैर्यपूर्वक अगाडि बढ्ने बताए ।
मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा नेकपा एमाले मकवानपुरका सल्लाहकार परिषद्का तत्कालीन अध्यक्ष तथा पुराना कम्युनिष्ट नेता स्व. बलराम हुँमागाईँको वार्षिक स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले एमाले सफलतामा उत्साहित र असफलतामा आत्तिने पार्टी नभएको बताए।
नेता ज्ञवालीले वर्तमान सरकारले राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिप्रति प्रतिकूल काम गरेको आरोप लगाउँदै सरकारको गलत रवैयाका कारण जनता निराश भएको दाबी गरिन्। देश र जनताप्रतिको निष्ठा, त्याग र समर्पणकै बलमा एमाले पुनः सशक्त रूपमा उठ्ने उनको भनाइ थियो।
उनले निरंकुश पञ्चायती व्यवस्थाको कठिन समयमा पार्टी विस्तारमा स्व. बलराम हुँमागाईँले महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै उनी पदभन्दा कामलाई प्राथमिकता दिने व्यक्तित्व भएको उल्लेख गरे।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना ले श्रमजीवी वर्गको हित, लोककल्याणकारी कार्य तथा सामाजिक–आर्थिक रूपान्तरणलाई पार्टीले प्राथमिकतामा राखेको बताए। उनले राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि अतिक्रमण भइरहेको उल्लेख गर्दै जनताले संघर्षबाट प्राप्त गरेका उपलब्धिको रक्षाका लागि थप संगठित हुनुपर्नेमा जोड दिए। स्व. हुँमागाईँको राजनीतिक तथा सामाजिक योगदानको समेत उनले चर्चा गरे।
त्यस्तै एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल ले पार्टी कार्यकर्ताहरू एकताबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने र स्व. हुँमागाईँका आदर्श तथा योगदानलाई अनुसरण गर्नुपर्ने बताए।
कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला सचिव सीता विष्ट, जिल्ला सदस्यहरू विदुर हुँमागाईँ, मेम्बर लो, खिलप्रसाद चौलागाईं, रामजी सापकोटा, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष चेतनाथ खतिवडा तथा बलराम हुँमागाई फाउण्डेसन का अध्यक्ष एवं स्व. हुँमागाईँका जेठा छोरा विजय हुँमागाईँ लगायतको उपस्थिति रहेको थियो।
स्व. हुँमागाईँका समकालीन मित्रहरू अर्जुन हुँमागाई, रोमप्रसाद न्यौपाने र हरि अधिकारी ले उनको बाल्यकाल, राजनीतिक यात्रा तथा सामाजिक योगदानबारे चर्चा गरेका थिए।
कार्यक्रममा बलराम हुँमागाई फाउण्डेसन को तर्फबाट नेपाल पोलिटेक्निक इन्स्टिच्युट मा भेटेनरी विषय अध्ययनरत जेहेन्दार विद्यार्थी गोकर्ण दाहाल लाई २० हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रम मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan