कैलाश — कैलाश गाउँपालिकाले आयोजना गरेको विद्यालय पोषण शिक्षा कार्यक्रमअन्तर्गत भएको वक्तृत्वकला प्रतियोगितामा व्यास माध्यमिक विद्यालयकी छात्रा कृतिका सुवेदी प्रथम भएकी छन्।
शुक्रबार आयोजित ‘स्वच्छ पोषण, सबल जीवनको आधार’ विषयक प्रतियोगितामा कैलाश–६ स्थित व्यास माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुवेदी प्रथम भएकी हुन्। त्यसैगरी कैलाश–९ स्थित कालिका माध्यमिक विद्यालयकी कक्षा ९ की छात्रा प्रतिक्षा मुक्तान द्वितीय तथा कैलाश–२ स्थित कमलादेवी माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विश्वास गुरुङ तृतीय भए।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तिलकप्रसाद गौतमका अनुसार प्रतियोगितामा माध्यमिक तहका १८ जना विद्यार्थीको सहभागिता रहेको थियो। विजयी विद्यार्थीलाई नगद पुरस्कार, विद्यालय झोला तथा स्टेशनरी सामग्री प्रदान गरिएको थियो। सहभागी अन्य विद्यार्थीलाई पनि प्रोत्साहनस्वरूप स्टेशनरी सामग्री वितरण गरिएको उनले बताए।
पुरस्कार वितरणपछि गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले वक्तृत्वकलाले विद्यार्थीको अभिव्यक्ति क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। यस्ता कार्यक्रममार्फत विद्यार्थीले स्वास्थ्य, शिक्षा तथा सामाजिक विषयमा थप जानकारी प्राप्त गर्ने भएकाले गाउँपालिकाले निरन्तर सञ्चालन गर्दै आएको उनको भनाइ थियो।
स्वच्छ पोषण र स्वस्थ जीवनशैलीबारे विद्यार्थीमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मुक्तानले बताए। उनले आगामी वर्षहरूमा पनि विभिन्न विषयमा यस्ता प्रतियोगिता आयोजना गरिने जानकारी दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री, शिक्षा शाखा प्रमुख समीर जोशी, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रशासन शाखा प्रमुख रामचन्द्र शिवाकोटीलगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।



