हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा शनिबार सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट ६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
वडा कार्यालयको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह-आयोजनामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।
शिविरमा हेटौंडा–४ सहित विभिन्न क्षेत्रका ६ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा मुटुरोग, स्त्रीरोग तथा क्षयरोग सम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्स–रे, ईसीजी, इको परीक्षण, छातीको एक्स–रे, पीएफटी (दम परीक्षण), सुगर तथा लिपिड प्रोफाइल परीक्षण, महिलाको पाठेघर तथा पाठेघरमुखको क्यान्सर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। आवश्यक परेका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सरकारले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउन प्राथमिकता दिएको बताउनुभयो। उहाँले यस्ता शिविरले समयमै रोग पहिचान गर्न, उपचारमा सहजता ल्याउन तथा स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी वडा अध्यक्ष सिग्देलले स्वास्थ्य, शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। शिविरमा उत्साहजनक सहभागिता जनाएका नागरिकप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रम व्यवस्थापक तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। साथै, शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा सहभागी नागरिकप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोली, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

