Search
Close this search box.

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा


हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–८ मा निर्माणाधीन गौतम बुद्ध स्तुपाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपालकै अग्ला बुद्ध स्तुपामध्ये एक मानिएको ६५ फिट अग्लो उक्त स्तुपा केही महिनाभित्र उद्घाटन गर्ने तयारी गरिएको छ।

मनहरी गाउँपालिकाको पहलमा निर्माण भइरहेको स्तुपाका लागि गाउँपालिकाले हालसम्म एक करोड ६ लाख रुपैयाँ लगानी गरेको छ भने बागमती प्रदेश सरकारबाट ६३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। निर्माण सम्पन्नतर्फ उन्मुख स्तुपाले मनहरीलाई नयाँ धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार स्तुपा निर्माणको मुख्य उद्देश्य मनहरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु हो। “पर्यटकको आगमनसँगै स्थानीयको आयआर्जन बढ्ने, रोजगारीका अवसर सिर्जना हुने र पालिकाको पहिचान स्थापित हुने विश्वासका साथ यो योजना अघि बढाइएको हो,” उनले भने ।

अध्यक्ष कालाखेतीले स्तुपा आसपास रहेका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलमा समेत पर्यटक पुग्ने अपेक्षा गरिएको बताए । स्तुपा सञ्चालनमा आएपछि समग्र क्षेत्रको पर्यटन गतिविधिमा उल्लेख्य वृद्धि हुने विश्वास गाउँपालिकाले लिएको छ।

उहाँका अनुसार आफ्नो कार्यकालमा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै भ्यूटावरदेखि धार्मिक संरचनासम्मका विभिन्न पूर्वाधार निर्माण गरिएको छ। “कार्यकाल समाप्त हुनुअघि सुरु गरिएका सबै योजनालाई पूर्णता दिने लक्ष्य छ। मनहरीलाई मकवानपुरकै उत्कृष्ट र आकर्षक पर्यटकीय पालिकाका रूपमा विकास गर्ने अभियानमा हामी अघि बढिरहेका छौँ,” अध्यक्ष कालाखेतीले बताए।
स्तुपा निर्माणको इतिहास पनि रोचक छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २०७५ सालमा व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ सहयोग गर्दै स्तुपाको शिलान्यास गरेका थिए । वर्षौँको प्रयासपछि अहिले उक्त सपना साकार हुने चरणमा पुगेको छ।
स्तुपा निर्माण उपभोक्ता समितिका अध्यक्ष गुणराज स्याङ्ताङका अनुसार हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। स्तुपालाई थप आकर्षक बनाउन बाहिरी संरचनामात्र नभई भित्र बुद्धसँग सम्बन्धित प्रतीकात्मक सामग्री, गरगहना तथा ऐतिहासिक महत्वका वस्तुहरू समेत राखिएको छ। स्तुपाभित्र मात्रै करिब २० लाख रुपैयाँ बराबरका सामग्री राखिएको उनले जानकारी दिए ।
स्तुपासम्म पुग्न ५५ मिटर लामो भर्‍याङ निर्माण गरिने भएको छ। धार्मिक आस्था, शान्ति र पर्यटनलाई एकैसाथ जोड्ने यो संरचना निर्माण सम्पन्न भएपछि मनहरीको नयाँ पहिचान बन्ने अपेक्षा छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan