हेटौँडा–मकवानपुरको मनहरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पु¥याएपछि बुधबार एक कार्यक्रमबिच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र दाहालका अनुसार घरधुरी सर्वेक्षणमा भेटिएका जन्मेदेखि १५ महिनासम्मको ६ सय ३३ जना, १६ देखि २३ महिनासम्मको ४ सय ६० जना र २४ देखि ५९ महिनाको १२ सय ३८ जना बालबालिकालाई सबै प्रकारका खोप लगाइएपछि गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक ललितबहादुर घलानले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र भएको बताए । नियमित खोप सेवामार्फत बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न सकिने बताउँदै पूर्ण खोप सुनिश्चितता भनेको प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु भएको उल्लेख गरे ।
गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामीमगर, स्वास्थ्य कार्यालय मकवानपुरका खोप अधिकृत मनिर आलमलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाबीच गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समयमै खोप लगाउँदा बालबालिकाको जीवन रक्षा हुने भएकाले खोप अति महत्वपूर्ण हुने बताए । खोप लगाउने स्वास्थ्यकर्मीलाई दिइने भत्तामा वृद्धि गर्ने अध्यक्ष कालाखेतीले प्रतिवद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दाहाललले पूर्ण खोप प्रक्रियागत चरण तथा पालिकास्तरीय तथ्यांकबारे जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीसहित ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।




