मकवानपुर । कुनै समय भाडाको घरबाट प्रशासनिक कामकाज सञ्चालन गर्न बाध्य मनहरी गाउँपालिका अब आफ्नै प्रशासकीय भवनमा सर्ने तयारीमा पुगेको छ। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार निर्माणाधीन प्रशासकीय भवन अन्तिम चरणमा पुगेको छ र छिट्टै आफ्नै भवनबाट सेवा प्रवाह गरिनेछ।
नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा सम्पन्न स्थलगत अवलोकन कार्यक्रममा अध्यक्ष कालाखेतीले पछिल्ला चार वर्षमा गाउँपालिकाले पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी दिए।
उनका अनुसार हाल ज्यामिरेस्थित भाडाको भवनबाट सञ्चालन भइरहेको गाउँपालिका कार्यालय अब राष्ट्रिय वन क्षेत्रको जग्गा गाउँपालिकाको स्वामित्वमा ल्याएर निर्माण गरिएको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण हुनेछ। करिब ६ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन तीनतले भवनमा ३० वटा कोठा रहेका छन्। तामाकोसी–ढाँचा निर्माण सेवा जेभी, काठमाडौंसँग ८ करोड २८ लाख ६ हजार रुपैयाँ लागतमा सम्झौता भई निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको उनले बताए।
वर्षौंदेखि भाडाको भवनबाट सेवा सञ्चालन गर्नुपरेको अवस्था अब अन्त्य हुँदैछ,” अध्यक्ष कालाखेतीले भने, “नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीले एकै स्थानबाट सहज र व्यवस्थित सेवा प्राप्त गर्नेछन् भने गाउँपालिकाको नियमित भाडा खर्चसमेत बचत हुनेछ।
अध्यक्ष कालाखेतीका अनुसार मनहरीको विकास प्रशासनिक भवन निर्माणमा मात्र सीमित छैन। धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ। मनहरी–८ मा निर्माणाधीन ६५ फिट अग्लो गौतम बुद्ध स्तूप, पिस पार्क, आमा घर, ध्यान केन्द्र, पोखरी, ऋषेश्वर मन्दिर तथा देउकोट भ्यू टावरजस्ता संरचनाले गाउँपालिकालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेका छन्।
“पर्यटन पूर्वाधारले स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ,” उनले बताए।
कृषिलाई गाउँपालिकाको आर्थिक मेरुदण्डका रूपमा विकास गर्न किसानमुखी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष कालाखेतीले जानकारी दिए। बाली बीमा, दूध उत्पादन प्रवर्द्धन, कोल्ड स्टोरेज निर्माण तथा बजार व्यवस्थापनका कार्यक्रमबाट किसान प्रत्यक्ष लाभान्वित भएको उनको दाबी छ।
विशेषगरी दुग्ध क्षेत्रमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै उनले नियमित भुक्तानी प्रणाली लागू भएपछि दैनिक दूध संकलन ५ हजार लिटरबाट बढेर १५ हजार लिटरसम्म पुगेको बताए। “यसले किसानको आय वृद्धि हुनुका साथै कृषि व्यवसायप्रति आकर्षण पनि बढाएको छ,” उनले भने।
स्वास्थ्य क्षेत्रतर्फ पनि गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको अध्यक्ष कालाखेतीको भनाइ छ। उनका अनुसार मनहरी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने हाल पाँच जना एमबीबीएस चिकित्सकमार्फत दैनिक ५ सयदेखि ६ सय बिरामीले सेवा लिइरहेका छन्।
“गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने हाम्रो प्रयासले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा राजधानी धाउनुपर्ने बाध्यता कम गराऔने प्रयासमा छौँ,” उनले बताए।
अध्यक्ष कालाखेतीले पछिल्ला चार वर्षमा मनहरीले प्रशासनिक संरचना निर्माणदेखि पर्यटन, कृषि, स्वास्थ्य र पूर्वाधार विकाससम्मका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे।


