हेटौँडा । नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडाको नवनिर्मित भवन सञ्चालनमा आएको छ। हेटौँडा उपमहानगरपालिका–४ मा निर्माण गरिएको भवनको आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन गर्नुभएको हो।
करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण भएको साढे तीन तले भवनमा अन्डरग्राउन्ड पार्किङसहित आधुनिक संरचना निर्माण गरिएको छ। एसएनपी–छुमा गणेश जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त भवन २०८० मंसिर ८ गते सम्झौता भई एक पटक म्याद थपपछि सम्पन्न भएको हो।
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपाल बैंकले आफ्नो गौरवशाली इतिहासलाई आधुनिक बैंकिङ सेवासँग जोड्दै सफल यात्रा गरिरहेको बताए। उनले हेटौँडासँग नेपाल बैंकको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता संस्थाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा राखे।
प्रविधिमैत्री बैंकिङ सेवाको विस्तारमा जोड दिँदै उनले नयाँ भवनले सेवाग्राहीलाई अझ छरितो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकले राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा सरकारसँग सहकार्य गर्दै काम गरिरहेको बताए। डिजिटल बैंकिङलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोगसँगै सेवा प्रवाह प्रभावकारी बनेको र कर्मचारी व्यवस्थापनमा समेत दक्षता आएको जानकारी दिए।
नेपाल बैंकका अनुसार हाल बैंकको सेवा सञ्जाल ७१ जिल्लामा फैलिएको छ। देशभर २३१ शाखामार्फत सेवा दिइरहेको बैंकमा करिब ४ सय अर्ब रुपैयाँ निक्षेप तथा २ सय ६० अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ। बैंकले २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।


