Search
Close this search box.

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ५८ करोड ५ लाख, पूर्वाधार र शिक्षामा उच्च प्राथमिकता

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १९औँ नगरसभामा प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँले कम रहेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ।

बजेटको स्रोत व्यवस्थापनतर्फ उपमहानगरपालिकाले आन्तरिक आम्दानीबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार तथा सङ्घीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

पूर्वाधार विकासका योजनाका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सडक बोर्डका योजनामा १ करोड ५० लाख, सडक सुरक्षा तथा उज्यालो सहर कार्यक्रमका लागि ९५ लाख र सिसिटिभी जडानका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

खानेपानी सुधारका लागि हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा १ करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै परियोजना बैंकका लागि ५० लाख, आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ४ करोड ६० लाख तथा सहरी विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुधार, गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षाको विस्तारलाई जोड दिइएको छ। स्वास्थ्य क्षेत्रमा ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा र मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

आर्थिक विकासतर्फ कृषि क्षेत्रका कार्यक्रमका लागि ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख तथा उद्योग र सहकारी क्षेत्रका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। खेलकुद क्षेत्रको विकासका लागि मेयर कप, उपमेयर कपलगायत प्रतियोगिता सञ्चालन गर्न १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।

सरसफाइ तथा फोहर व्यवस्थापनका लागि १ करोड रुपैयाँ, दमकल सञ्चालन तथा अग्नि नियन्त्रण व्यवस्थापनका लागि २ करोड १० लाख र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ४५ करोड रुपैयाँ छुट्याएको छ भने संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन र सूचना प्रविधिको विस्तारका लागि २ करोड ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan