Search
Close this search box.

मकवानपुरको मनहरीमा बिगौती दूध खाँदा ९ जना बिरामी

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ जोगितालमा गाई ब्याएको बिगौती दूध खाँदा गर्दा ९ जना बिरामी परेका छन्। बिरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
असार ८ गते गाईले बाछो जन्माएपछि उत्पादन भएको दूध पकाएर छिमेकीहरूलाई बिगौतीका रूपमा बाँडिएको थियो। उक्त दूध करिब ८ घरपरिवारमा वितरण गरिएको थियो।
सोमबार साँझ करिब ५ बजेतिर बिगौती खाएका स्थानीयहरूमा मध्यरातदेखि स्वास्थ्य समस्या देखिन थालेको थियो। बिरामीहरूमा झाडापखाला, बान्ता, उच्च ज्वरो तथा शरीर सुस्त हुने लक्षण देखिएको स्थानीयले बताएका छन्। मंगलबार बिहानैदेखि अधिकांश बिरामी उपचारका लागि अस्पताल पुगेका थिए।
हाल भरतपुरस्थित विभिन्न अस्पतालमा ६ जनाको उपचार भइरहेको छ भने ३ जना मनहरी अस्पतालमा उपचाररत छन्। तीमध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेको छ।
मनहरी अस्पतालकी प्रमुख डा. रश्मि झाका अनुसार प्रारम्भिक रूपमा ९ जना बिरामीको पहिचान भएको छ। केही बिरामीलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने केहीले स्थानीय स्वास्थ्य संस्थामै उपचार गराइरहेका छन्।
घटनापछि बिगौती दूधको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। परीक्षण रिपोर्ट आएपछि बिरामी हुनुको वास्तविक कारण खुल्ने चिकित्सकहरूले बताएका छन्।
दूध वितरण गरेका रेशम थापाले भने बिगौती सेवन गरेका सबै व्यक्तिमा समस्या नदेखिएको र केही व्यक्तिमा मात्रै स्वास्थ्य समस्या देखिएको बताएका छन् ।

बिरामी भएको जानकारी पाएलगत्तै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले आवश्यक परे उपचार खर्चमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घटनाको कारणबारे थप अनुसन्धान गर्न मनहरी गाउँपालिका र मनहरी अस्पतालका चिकित्सकहरूको संयुक्त टोलीले बुधबार जोगिताल पुगेर स्थलगत अध्ययन गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan