मकवानपुर । विकासका ठूला योजना र उपलब्धिको चर्चा भइरहँदा मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित रुपाचुरी बस्तीका स्थानीय भने अझै खानेपानी र सडकजस्ता आधारभूत सुविधाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन्।
घरघरमा धारा जडान भए पनि पानी नआउँदा अधिकांश परिवार कुवा र मुहानको भर पर्न बाध्य छन्। सुख्खा मौसममा ती मुहानसमेत सुक्ने भएकाले स्थानीयले कहिलेकाहीँ पिउने पानीसमेत नपाउने अवस्था रहेको बताएका छन्।
४३ वर्षीया अमृता प्रजा भन्छिन्, “कुवाको पानी हेर्दा नै खान मन लाग्दैन, तर त्यही पिउनुपर्छ। चैत–बैशाख लागेपछि कुवा पनि सुक्न थाल्छ।” उनका अनुसार खानेपानीको अभावले सरसफाइ पशुपालन र दैनिक जीवनयापनसमेत प्रभावित भएको छ।
पानीको अभावले कृषि उत्पादनमा पनि असर परेको छ। सिँचाइ नहुँदा अधिकांश किसान मकै र कोदो जस्ता सुख्खा सहने बालीमा सीमित छन्। कृष्णमाया घलान भन्छिन्, “जमिन सुख्खा छ, अरू खेती गर्न सकिँदैन। काम खोज्न बाहिर जाउँ भने पनि सजिलो छैन।” न्यून आम्दानीका कारण धेरै परिवारको दैनिक गुजारा चलाउनै कठिन भएको उनले बताइन्।
खानेपानीसँगै सडकको समस्या पनि गम्भीर छ। रुपाचुरीबाट मनहरी बजार पुग्न दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने अवस्था छ। बर्खायाममा सडक हिलाम्मे हुने, पहिरो खस्ने र सवारी सञ्चालन ठप्प हुने भएकाले बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
फरिबाङ–हाङलाङ टोल विकास संस्थाका अध्यक्ष भिमबहादुर मुक्तानका अनुसार खानेपानी आयोजना करिब नौ वर्षदेखि निर्माणाधीन छ।
उनले भने, “पाइप गाड्ने काम भएर रोकिएको छ। पाइप अभावका कारण काम अलपत्र छ। करिब ५०० घरधुरी प्रभावित छन्। दुई वर्षदेखि काम रोकिएको छ र अझै पाँच वर्षमा पनि पूरा होला जस्तो देखिँदैन।” उनका अनुसार अहिले अधिकांश स्थानीय कुवाकै पानी प्रयोग गर्न बाध्य छन्, त्यो पनि पर्याप्त छैन।
यता वडा अध्यक्ष युवराज थपलियाले भने खानेपानी र सडक दुवै क्षेत्रमा काम भइरहेको बताए। उनका अनुसार रुपाचुरी क्षेत्रमा तीनवटा योजनामध्ये दुईवटाको काम अघि बढिरहेको छ। बजेट विनियोजन, ठेक्का प्रक्रिया र खानेपानीका पाइप खरिद भइसके पनि दक्ष कामदारको अभाव, ढुवानी समस्या र दुर्गम भौगोलिक अवस्थाका कारण काम अपेक्षित गतिमा अघि बढ्न नसकेको उनले बताए।

