Search
Close this search box.

टोल विकास संस्थाको स्थापना दिवसमा संस्कृत वेद विद्यालयलाई वाटर प्युरिफायर हस्तान्तरण


हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा रहेको संस्कृत वेद विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले वाटर प्युरिफायर स्थापना तथा हस्तान्तरण गरेको छ।
समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा–१० का वडा अध्यक्ष फुर्बा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहालको आतिथ्यता थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समितिका सल्लाहकार रामकृष्ण थापा, सल्लाहकार गणेशकुमार श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख डा. भीमप्रसाद तिमल्सिना, विद्यालयका सल्लाहकार इन्द्र नेपाललगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले टोल विकास संस्था समुदायको विकास, सामाजिक रूपान्तरण र नागरिक सहभागिताको सशक्त माध्यम भएको बताए। उनले विगत २६ वर्षदेखि संस्थाले वातावरण संरक्षण, सरसफाइ, महिला सशक्तीकरण, नेतृत्व विकास, सामाजिक सचेतना अभिवृद्धि तथा सामुदायिक विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नु संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण कार्य भएको पनि उनले बताए।
प्रमुख अतिथि फुर्बा लामाले टोल विकास संस्थाहरू स्थानीय सरकारका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै समुदायस्तरमा विकास, सामाजिक सद्भाव, जनसहभागिता तथा सकारात्मक परिवर्तनका लागि संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। यस्ता जनमुखी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनले धारणा राखे।
सामाजिक विकास महाशाखाका प्रमुख डा. भीमप्रसाद तिमल्सिनाले टोल विकास संस्था नागरिक र स्थानीय सरकारबीचको महत्वपूर्ण सेतु भएको उल्लेख गर्दै महिला सशक्तीकरण, युवा नेतृत्व विकास, सामाजिक जागरण, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा संस्थाहरूले पुर्‍याएको योगदान उदाहरणीय रहेको बताए।

कार्यक्रममा विद्यालयलाई वाटर प्युरिफायर हस्तान्तरण गरिएको थियो। यसबाट विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीले स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न सक्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी तथा सदस्य, वडा समन्वय समितिका प्रतिनिधि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयवासीको सहभागिता थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan