हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विद्यालय तहबाटै विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावसायिक सीप प्रदान गर्न आवश्यक रहेको बताएका छन्।
हेटौंडा–४ वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति–४ को व्यवस्थापनमा सञ्चालित विद्यार्थी उद्यमशीलता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले वर्तमान प्रतिस्पर्धात्मक समयमा सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने बताए। उनले दक्ष, स्वरोजगार र आत्मनिर्भर नागरिक उत्पादनका लागि विद्यालयबाटै व्यावसायिक सीप विकासमा जोड दिनुपर्ने उल्लेख गरे।
उनले स्थानीय सरकारको मातहतमा विद्यालय आइसकेकाले व्यावसायिक तथा सीपमूलक शिक्षा विस्तारमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रमअन्तर्गत वडा नं. ४ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ७५ जना विद्यार्थीलाई कपाल काट्ने (बार्बर), ब्युटी पार्लर र इलेक्ट्रिकल सम्बन्धी तालिम प्रदान गरिएको थियो। प्रत्येक विषयमा २५-२५ जना विद्यार्थी सहभागी भएका थिए।
हप्ताको दुई दिन बिदाको सदुपयोग गर्दै सञ्चालन गरिएको तालिम उपयोगी र प्रभावकारी रहेको सहभागी विद्यार्थीहरूले बताएका छन्। उनीहरूले यस्ता सीपमूलक तालिम नियमित रूपमा सञ्चालन भए पढाइसँगै व्यावसायिक दक्षता हासिल गरी भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
समापन कार्यक्रममा श्रमिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेलगायतको उपस्थिति रहेको थियो।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा कार्यक्रम संयोजकलाई प्रमाणपत्र वितरण गरिएको थियो।
