Search
Close this search box.

मिसन पार्टी जागरणबाट संगठन सुदृढीकरण र शुद्धीकरण गरिने ; नवीन सिग्देल

हेटौँडा। नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पार्टी संगठनलाई पुनःव्यवस्थित गर्दै सुदृढीकरण र शुद्धीकरण गर्ने उद्देश्यले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको बताएका छन्।

हेटौँडा उपमहानगरपालिका–४ वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै सिग्देलले अभियानमार्फत पार्टी संगठनलाई बलियो बनाउने, नेता–कार्यकर्तामा अनुशासन कायम गर्ने तथा देश, जनता र पार्टीमाथि आउने चुनौतीको सामना गर्ने लक्ष्य रहेको बताए।

उनले जनताले ठूलो अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गरे पनि सरकारमा पुगेपछि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। सुकुम्बासी समस्या, मूल्यवृद्धि तथा नियुक्तिमा आफ्ना निकट व्यक्तिलाई प्राथमिकता दिँदै जनमतको अपमान गरिएको उनको दाबी थियो।

सिग्देलले मुलुकमा देखिएका विकृति र विसंगति रोक्न तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्न नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि संगठनलाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताए।

बैठकले पार्टी सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने, पार्टी अनुशासन उल्लंघन गर्ने व्यक्तिको पहिचान गरी अनुशासनको दायरामा ल्याउने तथा ‘मिसन पार्टी जागरण’ अभियानमा वडास्तरका सबै नेता–कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको जिल्ला सदस्य तथा हेटौँडा–४ का वडा इञ्चार्ज शिवहरी दाहालले जानकारी दिए।

वडा कमिटी अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्य जगन्नाथ पाण्डे, जिल्ला लेखा समितिका सचिव वीरेन्द्र ढुङ्गाना, जिल्ला लेखा समिति सदस्य विवेक कार्की, नगर कमिटी सदस्य अर्पणा देवकोटालगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan